अन्तराष्ट्रिय खबरविशेष खबरसमाचार

अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुर काठमाडौं आइपुगे

काठमाडौं  – अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस. पल कपुर आज काठमाडौं आइपुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिने कपुर, नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलोपटक उच्च तहको भ्रमणमा आएका हुन् ।

स्रोतका अनुसार, कपुरको तीनदिने भ्रमण नेपाल–अमेरिका सम्बन्ध सुदृढ पार्ने तथा वर्तमान सरकारका प्राथमिकताहरू बुझ्ने उद्देश्यमा केन्द्रित रहनेछ । भ्रमणका क्रममा अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने विषयमा समेत छलफल हुने सम्भावना रहेको छ ।

कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यद्यपि, प्रधानमन्त्री बालेन शाहसँग उनको भेट हुने/नहुनेबारे आधिकारिक पुष्टि भने भइसकेको छैन ।

पछिल्लो समय दक्षिण एसियामा बदलिँदो भू–राजनीतिक परिस्थिति तथा सुरक्षा चासोका विषयमा पनि दुई पक्षबीच विचार–विमर्श हुने अपेक्षा गरिएको छ ।

कूटनीतिक वृत्तमा कपुरको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी अनुभवी कूटनीतिज्ञका साथै दक्षिण एसियाली सुरक्षा मामिलाका विज्ञका रूपमा चिनिन्छन् । यसअघि उनी अमेरिकी नौसेना स्नातकोत्तर विद्यालयमा प्राध्यापनरत थिए भने अमेरिकी विदेश मन्त्रालयको नीति योजना विभागमा समेत कार्यरत थिए ।

विशेषगरी पछिल्लो समय नेपालको परराष्ट्र नीति र यस क्षेत्रमा बढ्दो अन्तर्राष्ट्रिय चासोका सन्दर्भमा अमेरिकाले नेपाललाई आफ्नो रणनीतिक प्राथमिकतामा राखेको संकेत यस भ्रमणले दिएको विश्लेषण गरिएको छ ।

भ्रमणका क्रममा कपुरले सरकारी अधिकारीहरूसँगै निजी तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूसँग पनि संवाद गर्ने कार्यक्रम रहेको छ । भ्रमणको पूर्ण तालिका तथा एजेन्डालाई अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले अन्तिम रूप दिइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button