NRNAविशेष खबर

अध्यक्षको दौडबाट शेरचन बाहिरिए, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व सहमतिमै चयन गर्ने तयारी भएको छ। सोहीअनुसार अध्यक्ष पदका प्रत्याशी रोविन शेरचनले आफूले दर्ता गराएको उम्मेदवारी फिर्ता लिएका छन्।

शेरचनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।

एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तापछि सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन्। वार्तामा उनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ। सहमतिअनुसार उनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन्।

‘मेरो सुरुदेखिको धारणा संस्था एकताबद्ध हुनुपर्छ भन्ने थियो। संस्थाको हितका लागि मैले अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको हुँ,’ शेरचनले भने, ‘सहमति अनुसार वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेको छु।’

स्रोतका अनुसार आगामी १३औँ महाधिवेशनमा शेरचनलाई अध्यक्ष बनाउने सहमति समेत भएको दाबी गरिएको छ।

सहमति बनेपछि अध्यक्ष महेश श्रेष्ठले अहिलेको आवश्यकता सहमति भएकाले सोहीअनुसार अघि बढिएको बताए। उनका अनुसार शेरचनले उम्मेदवारी फिर्ता लिएपछि अन्य आकांक्षीहरूलाई पनि मिलाएर चुनाव नगर्ने वातावरण बनाउन प्रयास भइरहेको छ।

यसअघि अध्यक्ष पदमा रोविन शेरचन, हेमराज शर्मा र रविन बज्राचार्यले उम्मेदवारी दिएका थिए। बज्राचार्यको पनि उम्मेदवारी फिर्ता लिन पहल भइरहेको बताइएको छ। अन्य पदहरूमा पनि उम्मेदवारहरूलाई सहमतिका आधारमा उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको श्रेष्ठले बताए।

तर महासचिव पदका उम्मेदवार रामशरण सिम्खडाले भने आफू उम्मेदवारी फिर्ता नलिने बताएका छन्। उनले महासचिव पदमा चुनाव लड्न तयार रहेको र सहमतिमा नबस्ने बताएका छन्। महासचिव पदमा चिरञ्जीवी खड्काको पनि उम्मेदवारी रहेको छ।

केही महिनाअघि विभिन्न समूहमा विभाजित एनआरएनए एकीकृत भएको थियो। सोही एकीकृत एनआरएनएको १२औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। सहमतिका प्रयास तीव्र बनेसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिकामा समेत हेरफेर गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button