खाडी मुलुकमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन्।
संयुक्त अरब इमिरेट्समा हालै भएको मिसाइल तथा ड्रोन आक्रमणपछि खसेका वस्तुहरूको फोटो तथा भिडियो खिची सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका छन्।
परराष्ट्र मन्त्रालयले यसअघि नै यस्ता फोटो तथा भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको थियो। सम्बन्धित मुलुकहरूले पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएका थिए।
तर सरकारी निर्देशनको अवज्ञा गर्दै सामाजिक सञ्जालमा सामग्री पोस्ट गरिएपछि सम्बन्धित निकायको निर्देशनमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ।
संयुक्त अरब इमिरेट्समा यस्ता घटनामा संलग्न ठहरिएमा एक वर्षसम्म कैद, त्यसपछि देशनिकाला (डिपोर्ट) तथा एक लाख दिरामसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।



