कुवेतमा अलपत्र ३३ नेपाली साउदी हुँदै गन्तव्यतर्फ प्रस्थान

काठमाडौं — कुवेतमा हवाई सेवा अवरुद्ध भएपछि ट्रान्जिटमा अलपत्र परेका नेपाली यात्रुहरूलाई वैकल्पिक मार्गमार्फत गन्तव्यतर्फ पठाइएको छ । सो क्रममा ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यमा पठाइएको छ ।
कुवेतस्थित नेपाली कूटनीतिक नियोगको समन्वयमा ती यात्रुहरूलाई स्थलमार्ग प्रयोग गरी साउदी अरेबिया पठाइएको हो । हवाई उडान प्रभावित भएपछि विभिन्न देशतर्फ प्रस्थान गर्ने क्रममा ट्रान्जिटमै रोकिएका यात्रुहरूलाई साउदीस्थित नेपाली नियोगसँगको सहकार्यमा व्यवस्थापन गरिएको जनाइएको छ ।
साउदी अरेबियामा नियमित हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरी यात्रुहरूलाई अन्तिम गन्तव्यतर्फ पठाइएको हो । यसअघि पनि कुवेत ट्रान्जिटमा अड्किएका ६९ जना नेपालीलाई रियादस्थित नेपाली नियोगसँगको समन्वयमा स्थलमार्ग हुँदै साउदी पुर्याएर त्यसपछि हवाई मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो ।
कुवेत र कतार दुवै मुलुकमा हवाई सेवा प्रभावित हुँदा ट्रान्जिटमा रहेका नेपाली यात्रुहरूलाई प्रारम्भिक रूपमा स्थलमार्गबाट साउदी अरेबिया पुर्याउने र त्यहाँबाट हवाई मार्गमार्फत सम्बन्धित गन्तव्यमा पठाउने प्रक्रिया निरन्तर सञ्चालनमा रहेको छ ।
यसका लागि प्रभावित यात्रुहरूलाई ट्रान्जिट प्रयोजनका लागि साउदी भिसा आवेदन गर्न अनुरोध गरिएको थियो । अनलाइन माध्यमबाट भिसा प्रक्रिया पूरा गरेपछि प्राप्त अनुमतिका आधारमा दूतावासको सहजीकरणमा यात्रुहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको सम्बन्धित निकायले जनाएको छ ।



