सरकारको सूचना: राहदानी वितरण सेवा १–३ हप्तासम्म बन्द हुनसक्ने

काठमाडौं – राहदानी विभागले राहदानी सेवा व्यवस्थापनमा नयाँ प्रणाली लागू गर्ने तयारी गरिरहेको भन्दै केही समयका लागि सेवा प्रभावित हुनसक्ने जनाएको छ। विभागले शुक्रबार जारी गरेको जरुरी सूचनामार्फत हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण (स्विच) गर्ने प्रक्रियाका कारण राहदानी वितरण सेवा अस्थायी रूपमा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो।
विभागका अनुसार प्रणाली स्थिर (स्टेबल) नहुँदासम्म सेवा प्रभावित हुन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा करिब १ देखि ३ हप्तासम्म बन्द हुन सक्ने उल्लेख गरिएको छ।
यस्तै राहदानी विभागबाट सिधै प्रदान गरिने सेवा पनि करिब १ हप्तासम्म बन्द हुन सक्ने जनाइएको छ। नयाँ प्रणाली कार्यान्वयनपछि पूर्ण रूपमा स्थिर हुन १ देखि ३ महिना सम्म लाग्न सक्ने भएकाले सो अवधिमा राहदानी तयारी तथा वितरणमा हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।
विभागले आगामी केही महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई प्रणाली परिवर्तनको अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट सेवा लिन अनुरोध गरेको छ।
नयाँ प्रणाली सुरु हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्था सम्बन्धी थप जानकारी पछि सूचना जारी गरी सार्वजनिक गरिने राहदानी विभागले जनाएको छ।



