विशेष खबरसमाचार

गृहमन्त्री सुदन गुरुङद्वारा पदबाट राजीनामा

काठमाडौँ, वैशाख ९ — गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय आफ्नो शेयरलगायतका विषयमा उठेका जनचासो र प्रश्नहरूलाई ध्यानमा राख्दै पद त्याग्ने निर्णय गरेका हुन्।

उनले आफ्नो राजीनामा प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष बुझाइसकेको जानकारी प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले दिएका छन्। हालका लागि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने जनाइएको छ।

राजीनामाबारे धारणा राख्दै गुरुङले पदभन्दा नैतिकता र जनविश्वासलाई प्राथमिकता दिएको बताएका छन्। उनका अनुसार अहिले उठिरहेको ‘जेनजी’ आन्दोलनले सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता झनै प्रष्ट पारेको छ।

उनले सरकार जनताको बलिदानीबाट बनेको स्मरण गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिले उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिनु आफ्नो कर्तव्य भएको बताएका छन्। साथै, आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद छाडेको उनले उल्लेख गरेका छन्।

गुरुङले पदमा रहँदा स्वार्थको द्वन्द्व देखिन नदिन र अनुसन्धान निष्पक्ष बनाउन आफूले मार्ग खाली गरेको स्पष्ट पारेका छन्। उनले आगामी दिनमा सत्य, इमानदारी र आत्मशुद्धिको बाटो अपनाउन सबै पक्षलाई आग्रह समेत गरेका छन्।

राजीनामा पछि उनले सञ्चारकर्मी र नागरिकलाई सम्बोधन गर्दै केही मिडियाकर्मीहरूको शेयर लगानीसम्बन्धी विषय पनि सार्वजनिक हुने संकेत दिएका छन्। उनले छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नैतिक साहस र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button