विशेष खबरसमाचार

मनोहरा खोला किनारमा सुकुम्बासी बस्ती हटाउन सुरु, ठूलो संख्यामा प्रहरी परिचालन

भक्तपुर, वैशाख १४ — मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य आज बिहानदेखि सुरु गरिएको छ।

बस्ती हटाउनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार, बिहानैदेखि करिब १,३०० नेपाल प्रहरी६०० सशस्त्र प्रहरी बल परिचालन गरेर संरचना हटाउने काम अघि बढाइएको हो।

उनका अनुसार, बस्तीका बासिन्दालाई आफ्ना घरटहरा आफैं भत्काउनका लागि बिहान ९:०० बजेसम्म समय दिइएको थियो। सो समयसीमा सकिएपछि काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोलीले बाँकी संरचना भत्काउन सुरु गरेको हो।

“अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउने काम सुरु गरिएको छ,” प्रहरी उपरीक्षक खड्काले बताए।

उक्त क्षेत्रमा हाल ७७७ वटा घरटहरा रहेको तथ्यांक छ। यसअघि शनिबार साँझ पनि सात वटा ठूला पक्की घर भत्काइएको थियो।

त्यस क्रममा केही सुकुम्बासीले अवरोध गरेपछि झडपको स्थिति उत्पन्न भएको थियो। आक्रमणमा परी २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button