NRNAप्रवासबैदेशिक रोजगारविशेष खबरसमाचारसंस्कृति

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ (मे १७) गते ‘नेपाल डे परेड’ हुने

अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड २०२६’ आयोजना हुने भएको छ । नेपाली कला, संस्कृति, भाषा तथा पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूयोर्क च्याप्टर, फिप्ना लगायत विभिन्न नेपाली संघ–संस्थाको संयुक्त आयोजनामा हुन लागेको परेडको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार परेड म्यानह्याटनको २८ स्ट्रिट र म्याडिसन एभेन्यू क्षेत्रबाट सुरु हुनेछ । कार्यक्रमका क्रममा ३८ स्ट्रिटदेखि फिफ्थ एभेन्यूसम्मका केही सडकहरू निश्चित समयका लागि बन्द गरिनेछन् । सहभागीहरूलाई बिहान ११ बजेदेखि उपस्थित हुन अनुरोध गरिएको छ भने परेड दिउँसो १ बजे सुरु हुनेछ ।

यस वर्षको नेपाल डे परेडमा करिब ५० नेपाली संघ–संस्थाको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकका अनुसार करिब पाँच हजार नेपाली समुदायका सदस्य सहभागी हुने अनुमान गरिएको छ । विभिन्न संस्थाबाट स्वयंसेवकसमेत परिचालन गरिनेछ ।

परेडमा नेपाली भेषभूषा, झाँकी, सांस्कृतिक प्रस्तुति, संगीत तथा नेपाली मौलिक परम्परालाई विशेष रूपमा प्रस्तुत गरिनेछ । कार्यक्रममार्फत विदेशी समुदायलाई नेपालको पर्यटन, संस्कृति र विविधताबारे जानकारी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

आर्थिक संयोजक कृष्ण लामिछानेका अनुसार कार्यक्रम सञ्चालनका लागि करिब ४० हजार अमेरिकी डलरसम्म खर्च हुने अनुमान गरिएको छ । हालसम्म व्यवसायी, संघ–संस्था तथा समुदायबाट उल्लेखनीय आर्थिक सहयोगको प्रतिबद्धता प्राप्त भइसकेको छ ।

न्यूयोर्कमा सन् २०१६ देखि नियमित रूपमा आयोजना हुँदै आएको नेपाल डे परेड नेपाली समुदायबीच एकता, पहिचान र सांस्कृतिक गौरवको महत्वपूर्ण उत्सवका रूपमा स्थापित हुँदै गएको छ ।

nepal parade

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button