अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धी ‘ट्राभल एडभाइजरी’ परिमार्जन

सुधारिँदो सुरक्षा अवस्था: अमेरिकाले नेपाल भ्रमणका लागि सतर्कता तह घटायो
काठमाडौँ – संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमणका लागि जारी गरेको यात्रा मार्गनिर्देशन (Travel Advisory) मा सुधार गर्दै सतर्कताको तह घटाएको छ।
सन् २०२५ सेप्टेम्बरदेखि देशव्यापी प्रदर्शनहरू साम्य भई सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि एडभाइजरी अपडेट गरेको हो। नयाँ सार्वजनिक सूचनामा नेपालमा सुरक्षा अवस्था सामान्य बन्दै गएको उल्लेख छ। यसअघि उच्च जोखिम देखाइएकोमा अहिले यसलाई “थप सावधानी अपनाउनु पर्ने” तहमा झारिएको छ।
एडभाइजरीमा भनिएको छ, “सेप्टेम्बर २०२५ बाट सुरु भएका प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा अवस्था स्थिर छ। तर, सहरहरूमा स्थानीय स्तरमा साना विरोध प्रदर्शन हुनसक्ने सम्भावना कायम छ।”
अमेरिकी नागरिकलाई चेतावनी दिँदै भनिएको छ कि प्रदर्शनहरू पूर्वसूचना बिना हुनसक्छ र कहिलेकाहीँ हिंसात्मक हुन सक्छ। त्यसैले भीडभाडबाट टाढा रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न सुझाव दिइएको छ।
स्वास्थ्य सेवा र आपत्कालीन अवस्था
नेपालमा स्वास्थ्य सेवा काठमाडौँमा तुलनात्मक रूपमा राम्रो भए पनि उपकरण र औषधी अभाव हुन सक्छ। विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले बेहोर्दैन। त्यसैले यात्रा गर्नुअघि अत्यावश्यक औषधी र ट्राभल इन्स्योरेन्स लिन सिफारिस गरिएको छ।
प्राकृतिक प्रकोपको जोखिम
नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ। साथै, जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा बाढी र पहिरोको उच्च जोखिम रहने जनाएको छ। बाढी वा पहिरोले सडक अवरुद्ध हुनसक्ने र आपत्कालीन सेवामा पहुँच कठिन हुनसक्ने भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ।
यात्रुका लागि सुझाव
- अमेरिकी दूतावासको ‘Smart Traveler Enrollment Program’ मा दर्ता हुन।
- नेपालका पछिल्ला समाचारहरू नियमित रूपमा फलो गर्न।
- भिडभाड र प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन।
- यात्रा अघि International Travel Checklist प्रयोग गर्न र व्यापक स्वास्थ्य बिमा सुनिश्चित गर्न।
नेपालमा राजनीतिक स्थिरता कायम हुँदै गएको र सुरक्षा अवस्थामा सुधार आएको कारण, अमेरिकाले ट्राभल एडभाइजरीको तह घटाउनुलाई पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत मानिएको छ।



