
काठमाडौँ, चैत २३ — आज बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारले डिजिटल पूर्वाधार विस्तारदेखि लिएर ऊर्जा व्यवस्थापन र प्रशासनिक सुधारसम्मका विषयमा नीतिगत निर्णयहरू गरेको हो।
बैठकले Digital Nepal Transformation कार्यक्रमका लागि Asian Development Bank र World Bank बाट प्राप्त हुने करिब ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै, दिगो तथा समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय पनि गरिएको छ।
सरकारले प्रशासनिक संरचना सुधारतर्फ कदम चाल्दै सबै मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ।
यसैबीच, राष्ट्रिय समाचार समिति का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरिएको छ।
पेट्रोलियम आपूर्तिमा देखिएको असहजतालाई ध्यानमा राख्दै सरकारले आइतबार समेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अब २०८२ चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा हुनेछ भने कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिनेछ।
ऊर्जा रूपान्तरणलाई प्राथमिकता दिँदै सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतिय सवारीमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
यसैगरी, आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरिएको सरकारका स्रोतले जनाएको छ।
सरकारका यी निर्णयहरूले डिजिटल विकास, ऊर्जा व्यवस्थापन र प्रशासनिक सुधारमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।



