
काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही समयदेखि स्वास्थ्य समस्याका कारण अस्वस्थ रहेका मोहनप्रसाद ओली पछिल्लो समय अस्पतालमा उपचाररत थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज बिहान उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वर्गीय मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा ल्याउने तयारी भइरहेको छ । त्यहाँ आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार दाहसंस्कार गरिने बताइएको छ ।
स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन् । उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।



