
काठमाडौँ –नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसमितिबाट तयार गरिएको प्रारम्भिक योजनाअनुसार महाधिवेशन २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौँमै आयोजना गर्ने लक्ष्य राखिएको छ ।
कार्यतालिकाअनुसार देशभरका ६ हजार ७ सय ४३ वडामा साउन ६ गते एकैसाथ अधिवेशन गर्ने तयारी गरिएको छ । त्यसपछि साउन १२ गते गाउँ तथा नगरपालिकास्तरको अधिवेशन सम्पन्न गरिने जानकारी दिइएको छ ।
यसैगरी, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तय गरिएको छ ।
जिल्ला तहको अधिवेशन भदौ ६ र ७ गतेका लागि राखिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते सञ्चालन हुने उल्लेख गरिएको छ ।
उक्त कार्यतालिका आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा आउने जनाइएको छ ।



