विशेष खबरसमाचार

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

काठमाडौँ  – सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि उनले स्वतः उक्त जिम्मेवारी पाएकी हुन् ।

नेपालको संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा बरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्ने व्यवस्था छ । सोही संवैधानिक प्रावधानअनुसार मल्लले कार्यभार सम्हालेकी हुन् ।

यसैबीच, नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । न्याय परिषद्ले केही समयअघि नै सम्भावित उम्मेदवारहरूको सूची संवैधानिक परिषदमा पठाएको भए पनि परिषद् पूर्ण नहुँदा सिफारिस प्रक्रिया अवरुद्ध बनेको छ । हाल सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेताको पद रिक्त रहेकाले परिषद् निष्क्रिय अवस्थामा छ ।

संघीय संसदको अधिवेशन सुरु भई आवश्यक पदपूर्ति भएपछि मात्रै संवैधानिक परिषद् सक्रिय हुने र त्यसपछि प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । प्रस्तावित नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने व्यवस्था रहेको छ । सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।

सपना प्रधान मल्लको परिचय

सपना प्रधान मल्ल कानुन तथा मानवअधिकार क्षेत्रमा लामो अनुभव भएकी व्यक्तित्व हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा उच्च अध्ययन गरेकी छन् ।

न्यायाधीश बन्नुअघि उनी विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध रही मानवअधिकार तथा कानुनी सुधारका क्षेत्रमा सक्रिय थिइन् । संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा समेत उनले विज्ञ सदस्यको रूपमा काम गरिसकेकी छन् ।

संविधानसभा सदस्यको रूपमा समेत योगदान दिएकी मल्लले लामो समयदेखि कानून व्यवसाय र शिक्षण क्षेत्रमा काम गर्दै आएकी छन् । सर्वोच्च अदालतमा कार्यरत रहँदा उनले लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक मुद्दाहरूमा महत्वपूर्ण निर्णयहरूमा योगदान दिएकी छन् ।

यदि उनी स्थायी प्रधानन्यायाधीशमा नियुक्त भएमा ६५ वर्षे उमेरहदका कारण २०८५ साल कार्तिकमा अवकाश हुने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button