खाडी मुलुकका लागि श्रम स्वीकृतिमा रोक

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालको परिस्थितिलाई मध्यनजर गर्दै पश्चिम एसियाली देशहरूमा नयाँ श्रम स्वीकृति खुलाउन नसकिने निष्कर्ष निकालेको छ।
सोमबार मन्त्री दीपककुमार शाह, सचिव डा. दीपक काफ्ले, वैदेशिक रोजगार विभाग तथा बोर्डका पदाधिकारी र सम्बन्धित देशमा कार्यरत श्रम काउन्सलर तथा सहचारीबीच भएको छलफलबाट यस्तो निर्णय गरिएको हो। खाडी मुलुकमा कार्यरत अधिकारीहरूले त्यहाँको अवस्था अझै सामान्य नभएको उल्लेख गर्दै नयाँ श्रम स्वीकृति दिन उपयुक्त नहुने सुझाव दिएका थिए। सोही आधारमा मन्त्रालयले हालका लागि स्वीकृति नखोल्ने निष्कर्षमा पुगेको प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो।
यसअघि मन्त्रालयले फागुन १७ गतेदेखि साउदी अरब, यूएई, कुवेत, कतार, ओमान, बहराइन, टर्की, लेबनान, इजरायल, इरान र जोर्डनलगायत देशमा नयाँ तथा पुनः श्रम स्वीकृति स्थगित गरेको थियो। पछि चैत ३ गतेदेखि भने साउदी अरब, कतार, यूएई, बहराइन, ओमान, यमन र टर्कीमा पुनः श्रम स्वीकृति आंशिक रूपमा खुला गरिएको छ।
अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वका कारण पश्चिम एसियामा रहेका नेपाली श्रमिकको सुरक्षामा चुनौती देखिएको छ। उक्त द्वन्द्वमा एक नेपालीको मृत्यु भएको र करिब २० जना घाइते भएको जानकारी पनि आएको छ।
बैठकमा श्रमिकका लागि आवास, स्वास्थ्य परीक्षण, कार्यस्थल सुरक्षा लगायतका विषयमा पनि विस्तृत छलफल गरिएको थियो। विषम परिस्थितिमा श्रमिकले भोगिरहेका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने मन्त्रालयको प्रतिबद्धता रहेको जनाइएको छ।
त्यसैगरी, वैदेशिक रोजगार बोर्डमार्फत सञ्चालन भइरहेका सेफ हाउस तथा सेल्टरको प्रभावकारी व्यवस्थापन, बजेटको पारदर्शी खर्च र समयमै प्रतिवेदन पेश गर्ने विषयमा सहमति भएको छ। साथै, गन्तव्य मुलुकस्थित नेपाली दूतावासमार्फत सूचना प्रवाह सुदृढ गर्ने र प्राप्त गुनासालाई छिटो समाधान गर्ने विषयमा पनि जोड दिइएको छ।
मन्त्रालयका अनुसार दूतावासमा सञ्चालनमा रहेका सेफ हाउस र सेल्टरका लागि आवश्यक मापदण्ड तयार गर्ने प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल भएको छ।



