जर्मनीमा पहिलो पटक ‘एनआरएनए क्रिकेट प्रतियोगिता’ आयोजना हुँदै

बर्लिन – जर्मनीमा बसोबास गर्ने नेपाली समुदायबीच पहिलोपटक बृहत् ‘एनआरएनए क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। नेपाली डार्मस्टाट क्रिकेट क्लब, नेपाल डार्मस्टाट फुटबल क्लब, एनआरएनए जर्मनी तथा एनआरएनए एलसीसी हेसेनको संयुक्त पहलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
मे ३० र ३१ तारिखमा डार्मस्टाटमा सञ्चालन हुने प्रतियोगितामा जर्मनीभर रहेका १० नेपाली क्रिकेट क्लबले सहभागिता जनाउनेछन्। आयोजकका अनुसार प्रतियोगिताले विदेशमा रहेका नेपाली युवालाई खेलमार्फत एकताबद्ध बनाउने विश्वास लिइएको छ।
प्रतिस्पर्धामा ह्यामबर्ग, बर्लिन, गोटिङ्गेन, म्युनिख, नुरेम्बर्ग, वाइनगार्टन, डार्मस्टाट, म्यानहाइम र गिसेनलगायत विभिन्न शहरका टोलीहरू मैदानमा उत्रिनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग चरणपछि उत्कृष्ट टोलीलाई नकआउट चरणमा प्रवेश गराइनेछ।
प्रतियोगिताको विजेता टोलीले २,००२ यूरो तथा उपविजेताले १,००१ यूरो नगद पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजक संस्थाहरूले प्रतियोगितालाई केवल खेलकुदमा सीमित नभई जर्मनीमा फैलिँदै गएको नेपाली समुदायको एकता, सहकार्य र सांस्कृतिक समम्बन्ध मजबुत बनाउने अभियानका रूपमा लिएको बताएका छन्। उनीहरूका अनुसार यस कार्यक्रमले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।



