
बर्लिन- बर्लिनस्थित नेपाली दूतावासले युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकलाई अत्यावश्यक बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।
दूतावासले जारी गरेको सूचनामा रूस र युक्रेनबीच बढ्दो तनाव तथा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि युक्रेन यात्रा स्थगित गर्न अनुरोध गरिएको उल्लेख छ।
साथै, हाल युक्रेनमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म सुरक्षित रहन तथा आवश्यक सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ। परिस्थिति जटिल बन्दै गएमा सुरक्षित रूपमा नेपाल फर्किनसमेत सुझाव दिइएको छ।
दूतावासले कुनै समस्या, आपतकालीन अवस्था वा सहयोग आवश्यक परे बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।
यसका लागि प्रथम सचिव रञ्जन यादवको मोबाइल नम्बर +49 176 26741207 (व्हाट्सएपसहित) सार्वजनिक गरिएको छ।
दूतावासले नेपाली नागरिकलाई आधिकारिक सूचना तथा सुरक्षा निर्देशनहरू नियमित रूपमा पालना गर्नसमेत अनुरोध गरेको छ।




