खेलकुद खबरप्रवासविशेष खबरसमाचार

बेलायतमा ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’को छैटौँ संस्करण सुरु

लण्डन – बेलायतमा बसोबास गर्ने नेपाली समुदायबिच लोकप्रिय मानिएको ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ ।

नेपाली मूलका खेलाडीलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको प्रतियोगितामा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगिताका खेलहरू हरेक आइतबार सञ्चालन हुनेछन् । पहिलो साताअन्तर्गत सम्पन्न खेलमा खुकुरी सिसी र रमाइलो सिसी, माया सिसी र नेपालीज रोयल्स सिसी, नयाँ युवा सिसी र हिमालयन सिसी तथा एभरेस्ट राइनोज सिसी र साथी सिसीबिच प्रतिस्पर्धा भएको थियो ।

बिजिसिएल बेलायतमा नेपाली समुदायलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो तथा एकमात्र क्रिकेट लिग मानिन्छ । लिगले हालसम्म पाँच संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

प्रतियोगिता ह्याम्पशायर क्रिकेट बोर्ड, नेसनल एसियन क्रिकेट काउन्सिल तथा क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध रहेको जनाइएको छ ।

आयोजकका अनुसार प्रतियोगिताले बेलायतमा रहेका नेपाली युवालाई क्रिकेटमार्फत एकताबद्ध गर्नुका साथै नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । यस वर्षको संस्करण पनि प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ ।

ब्रिज इन्टरनेसनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिता मे १० देखि अगस्टसम्म सञ्चालन हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button