NRNAप्रवासविशेष खबरसमाचार

सान फ्रान्सिस्कोमा भव्य रूपमा सम्पन्न ‘नेपाल उत्सव’

सान फ्रान्सिस्को – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल उत्सव’ भव्य रूपमा आयोजना गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियासहित विभिन्न नेपाली सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । लस एन्जलस, सान डिएगो, साक्रामेन्टो, बेकर्सफिल्ड, लङबीचलगायत विभिन्न क्षेत्रबाट नेपालीहरू उत्सवमा सहभागी हुन सान फ्रान्सिस्को पुगेका थिए ।

सान फ्रान्सिस्को सिटी हलबाट सुरु भएको नेपाल डे परेड एम्बार्काडेरो प्लाजासम्म करिब १.६ माइल दूरीमा सञ्चालन गरिएको थियो । परेडका क्रममा सहरको मुख्य क्षेत्र मार्केट स्ट्रिटमा सवारी आवागमन बन्द गरी पैदलयात्रुका लागि खुला गरिएको थियो ।

विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले प्रस्तुत गरेका झाँकी, नेपाली परम्परागत वेशभूषा तथा सांस्कृतिक प्रस्तुतिहरूले सान फ्रान्सिस्कोको सडकलाई नेपालमय बनाएको थियो । कार्यक्रममा प्रदर्शन गरिएका नेपाली कला र संस्कृतिलाई स्थानीय अमेरिकी समुदायले समेत उत्साहपूर्वक अवलोकन गरेका थिए ।

उत्सवको मुख्य आकर्षणका रूपमा पञ्चकन्या, पञ्चेबाजा, शङ्खध्वनि, कुमारी, धिमे तथा लाखे नाच प्रस्तुत गरिएको थियो । नेपाली समुदायलाई हौसला प्रदान गर्न अमेरिकाका विभिन्न स्थानीय जनप्रतिनिधिहरू समेत कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा सान फ्रान्सिस्कोस्थित विभिन्न देशका महावाणिज्य दूतावासका कूटनीतिक अधिकारी, बे एरियाका मेयर तथा सिटी काउन्सिल सदस्यहरूको समेत सहभागिता रहेको एनआरएनए क्यालिफोर्नियाका सचिव कैलाश केसीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button