प्रवासबैदेशिक रोजगारसमाचार

खाडी तथा पश्चिम एसियामा श्रम स्वीकृति पुनः खुला

काठमाडौं। पश्चिम एसिया र खाडी क्षेत्रमा केही समयदेखि देखिएको तनाव कम हुँदै गएपछि सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रक्रिया पुनः सुरु गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार सूचना जारी गर्दै १२ वटा मुलुकका लागि संस्थागत र व्यक्तिगत दुवै प्रकारको श्रम स्वीकृति खुला गरिएको जनाएको हो।

यसअघि अमेरिका–इरान तनावका कारण सुरक्षा जोखिम बढेको भन्दै सरकारले फागुन १७ गतेदेखि ती देशहरूमा श्रम स्वीकृति स्थगन गरेको थियो। त्यसयता केही देशहरूमा आंशिक रूपमा खुला गरिए पनि समग्र प्रक्रिया बन्द नै थियो।

परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ ले पछिल्लो समय क्षेत्रीय सुरक्षा अवस्थामा सुधार आएको निष्कर्ष निकाल्दै श्रम स्वीकृति खुलाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया पुनः सुरु गरिएको मन्त्रालयले जनाएको छ।

यो निर्णयसँगै लामो समयदेखि भिसा प्रक्रिया पूरा गरेर पनि उडान गर्न नपाएका हजारौँ नेपाली श्रमिकहरूलाई राहत मिलेको छ। विशेष गरी कतार, साउदी अरब, यूएई र कुवेत जाने तयारीमा रहेका श्रमिकहरू अब गन्तव्यतर्फ जान सक्ने भएका छन्।

श्रम विभागले म्यानपावर व्यवसायी र वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, सम्बन्धित देशहरूको सुरक्षा अवस्थाबारे सतर्क रहन र मन्त्रालयका अपडेटहरू नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ।

लामो अन्योलपछि श्रम स्वीकृति खुल्दा वैदेशिक रोजगारीको पर्खाइमा रहेका श्रमिक तथा व्यवसायीहरूमा सकारात्मक प्रभाव परेको छ।

यी देशका लागि खुल्यो श्रम स्वीकृति:

साउदी अरब
संयुक्त अरब इमिरेट्स (यूएई)
कतार
कुवेत
बहराइन
ओमान
इराक
यमन
जोर्डन
लेबनान
टर्की
इजरायल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button