
वैशाख २८ गते – गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय समन्वय परिषद्ले ‘संकल्प २०२६’ नाम दिइएको १७औँ युरोपियन क्षेत्रीय सम्मेलन (ERC 2026) आगामी अगस्ट १० र ११ मा आयरल्यान्डको डब्लिनमा आयोजना गर्ने घोषणा गरेको छ ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) आयरल्यान्डसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनले युरोपमा रहेका नेपाली समुदायबीच एकता, लगानी, सहकार्य तथा समृद्धिको साझा अवधारणालाई अघि बढाउने आयोजकले जनाएको छ ।
‘United by Identity, Driven by Investment, Committed to Prosperity’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा नीति निर्माता, उद्यमी, लगानीकर्ता, महिला नेतृत्व, युवा नवप्रवर्तनकर्ता, शिक्षाविद् तथा विभिन्न समुदायका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सम्मेलनमा नागरिकता, लगानी, प्रवासी नेपालीको सहभागिता, संगठन सुदृढीकरण, उद्यमशीलता तथा दिगो विकासका विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ । साथै महिला सम्मेलन तथा युवा एवं दोस्रो पुस्ताका नेपालीहरूको विशेष सत्र पनि समावेश गरिनेछ ।
कार्यक्रमले युरोपभर रहेका नेपाली समुदायबीच आपसी सहकार्य, सांस्कृतिक आदानप्रदान तथा नेटवर्क विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ ।
एनआरएनए युरोप क्षेत्रीय संयोजक रोबोट लिम्बूले सम्मेलनलाई सफल बनाउन युरोपका विभिन्न एनसीसी, आईसीसी सदस्य, उद्यमी, लगानीकर्ता तथा नेपाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।



