
भक्तपुर, जेठ २१ – भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा भीषण आगलागी हुँदा विद्यालयको दुई तला भवनमा ठूलो क्षति पुगेको छ।
विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिका अनुसार आगलागीबाट विद्यालयका पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका छन् भने भवनको दुई तला भागमा व्यापक क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब रु ५० लाख बराबरको क्षति भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत् सर्ट (Short Circuit) का कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि विद्यालय परिसरमा जलेका सामग्री हटाउने तथा सरसफाइको काम सुरु गरिएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयले पठनपाठन लामो समय प्रभावित हुन नदिने गरी वैकल्पिक व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ। यता, प्रहरी वृत्त जगातीले घटनाबारे थप अनुसन्धान जारी रहेको र क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको जानकारी दिएको छ।



